दफा १७
गोपनियता कायम राख्नु पर्ने
(१) कार्यान्वयन समितिले अनुमतिपत्र प्राप्त संस्थासँग सम्वन्धित आफ्नो जिम्मा वा नियन्त्रणमा रहेको सबै कागजातहरू तथा सूचनाहरू गोप्य राख्नु पर्नेछ ।
(२) उपदफा (१) मा उल्लेखित कागजात तथा सूचनाहरू कुनै पनि अदालत, जाँचबुझ आयोग, अख्तियार दुरूपयोग अनुसन्धान आयोग वा जाँचबुझ समितिमा पेश गर्न वा अन्य कुनै पनि तवरबाट त्यस्तो कागजात वा सूचनाहरूको गोपनियता भङ्ग गर्न कार्यान्वयन समिति बाध्य हुने छैन ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि अनुमतिपत्र प्राप्त संस्थाले गर्ने अन्तर्राष्ट्रिय वित्तीय कारोबारसँग सम्वन्धित कागजात तथा सूचनाहरू अवैध लागू औषध वा अवैध हातहतियारसँग सम्वन्धित भएको कुरा प्रमाणित गर्ने पर्याप्त आधारहरू भएमा नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने अधिकारीको अनुरोधमा अदालतले त्यस्ता कागजात तथा सूचनाहरू अदालत समक्ष पेश गर्ने आदेश दिन सक्नेछ ।